FAQs Complain Problems

समाचार

Photo Gallery

शुक्लागण्डकी नगरपालिकाको ठिक विच भागबाट बग्ने सेती नदीको किनारमा रहेका ढुँगे बगैँचा यहाँका एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । नदीको छालसँग प्राकृतिक रुपमा कुदिँएका चट्टानका विभिन्न आकारहरुले यहाँ पुग्ने पर्यटकहरुलाई आकर्षित गरेको पाइन्छ ।

नदीको तटीय क्षेत्रमा अवस्थित रक गार्डेन अर्थात ढुँगे बगैँचा गाछेपानीबाट प्रवेश गरेर नदि किनारमा पुगेपछि देख्न सकिन्छ ।

गाछेपानीदेखि नदीको किनारै किनार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको संगम दोभान क्षेत्रसम्म अवलोकन गर्न सकिन्छ । पानीको छालले कुदिँएका कलात्मक ढुँगे बगैचामा पछिल्लो समय विभिन्न चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेका छन् । रक गार्डेनमा पुग्ने पर्यटकले सँगै अवलोकन गर्ने सक्ने धार्मिक स्थलहरु मध्ये मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम र शुक्ला हिलेटार शिवालय क्षेत्र पनि हुन् । हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र बन्दै गएका यि दुई धार्मिक क्षेत्रको ऐतिहासिक धार्मिक महत्व रहेका छन् ।

धार्मिक मान्यता सहित यहाँ पुग्ने धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न शुक्लागण्डकी नगरपालिकासहित सरकारी र नागरिक स्तरबाट विभिन्न कलात्मक संरचनाहरु निर्माण भएका छन् । ध्यान योग र साधनाका साथै प्राकृतिक मनोरम दृश्य मन पराउनेहरुकालागि शुक्ला हिलेटार क्षेत्र क्षेत्र उपयुक्त रहेको छ भने धार्मिक र मनोरञ्जन चाहाने पर्यटकहरुलाई मुक्तिनाथ च्यवनधामले आकर्षित गर्न सक्दछ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौंडा बजारबाट १२ किलोमिटरको दूरीमा ढोर दरबार अवस्थित छ । समुद्री सतहदेखि एक हजार २७० मिटरको उचाइमा रहेको दरबार परिसर दृश्य अवलोकन गर्ने उपयुक्त स्थान पनि हो ।

तत्कालीन बाइसे चौबीसे राज्य अन्तर्गतको एक ढोर राज्यको यो दरबार इतिहासबारे बुझ्न खोज्नेहरुका लागि उपयुक्त गन्तव्य पनि हो । मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग मिलेनियम ट्रेकमा पर्ने ऐतिहासिक ढोर दरबारबाट देखिने सूर्योदय र सूर्यास्तले सबैलाई लोभ्याउँछ । अग्लो ठाउँमा रहेको दरबार परिसरबाट शुक्लागण्डकी नगरपालिकाका १२ वटै वडा देख्न सकिन्छ ।

यहाँबाट कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, लमजुङ, गोरखा, नवलपरासी लगायतका गण्डकी प्रदेशका अधिकाँश जिल्लाका भू–भागहरु देखिन्छ । ढोर दरबारको नजीकै रजस्थल गाउँ छ । गुरुङ, मगर, ठकुरी, तामाङ र दलित समुदायको मिश्रित बस्ती रहेको पाइन्छ ।

गोरखा दरबारका तत्कालीन राजा इन्द्र राज्यलक्ष्मीले कास्कीकोटका राजासँग मिलेर विसं १८३७ ढोर राज्यमाथि आक्रमण गरेको र आक्रमणमा परेर ढोरका राजा मारिएको इतिहास यो क्षेत्रसँग जोडिएको छ । ढोर राज्यको अन्तिम राजा सिद्धि खाँण ठकुरी हुन् । पछिल्लो समय दरबारलाई पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना देखेर स्थानीयवासी संरक्षणमा जुटेका छन । दरबारसँगै कुटी, भैरव मन्दिर, खड्ग कालिका मन्दिर र कोटमन्दिर रहेका छन् ।

ढोर मुल्कोट दरबार धेरैलाई मात्र थाहा हुन सक्छ, तर यो १८०० को दशकदेखिको नेपालको प्रमुख ऐतिहासिक पूर्वाधारहरू मध्ये एक स्थल भएका कारणमा पनि यसको महत्व धेरै रहेको छ । यो पर्यटकहरूको लागि एक उत्तम दृश्य हो जहाँबाट तपाईं अन्नपूर्ण र धौलागिरी जस्ता चुचुराहरू सहित पर्वत शृङ्खलाहरूको दृश्यहरू हेर्न सक्नुहुन्छ ।

त्यस्तै, पार्क र पिकनिक स्पट जस्ता अन्य पूर्वाधारहरू यस ठाउँ वरिपरि सिर्जना गरिएका छन्। तपाईं माथिल्लो कालिका मन्दिरको पनि भ्रमण गर्न सक्नुहुन्छ।

तनहुँको महत्वपूर्ण पर्यटकीय गन्तब्य स्थलको रुपमा शुक्लागण्डकी नगरपालिका ९ घारीमा रहेको गिद्ध तथा गाई संरक्षण केन्द्रलाई लिन सकिन्छ । पृथ्वीराजमार्गबाट पाँच मिनेटको दुरीमा नयाँ पुलपारी स्थापना गरिएको यो स्थल विशेषत नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण गर्ने ठाउँ हो । बेवारिसे अवस्थामा रहेका र उत्पादन दिन छोडेपछि संरक्षणका अभाव खेप्ने गाईहरुलाई यहाँ राख्ने गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय जनावर गाईको उचित ब्यवस्थापन र संरक्षण गर्न स्थापना गरेको गौ संरक्षण केन्द्र अहिले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिको जिम्मामा छ । गाई मात्र नभएर यो क्षेत्र गिद्धहरुको संरक्षण स्थलको रुपमा समेत स्थापित भएको छ । ठुलो संख्यामा रहने गाई मरेपछि गिद्धलाई आहाराको लागि फाल्ने गरिन्छ । मरेका गाई खान गिद्धहरु सयौँको संख्यामा आउने, बस्ने र घुम्ने गरेको दृश्यले पर्यटकहरु समेत मोहित हुन्छन् । यस क्षेत्रलाई गिद्ध रेष्टुरेष्ट समेत भन्ने गरेको पाइन्छ ।

धार्मिक र पर्यटकीय रुपमा समेत विकास हुन थालेको यो संरक्षण केन्द्रमा यहाँका सरकार र स्थानीयहरु लागेको पाइन्छ । नगर र आसपासका मानिसहरुले श्रमदान गरेर गौ संरक्षण केन्द्रको विकासमा महत्वपुर्ण योगदान दिएका छन् ।

पछिल्लो समय हेलामा परेर बेवारिसे अवस्थामा रहेका गाई—गोरुको संरक्षण गरिएको यो क्षेत्रमा जन्मदिन मनाउदै सहयोग गर्न, गाईहरु सामुहिक रुपमा रमाएको, गिद्धहरु खेलेको आदी हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । यो ठाँउमा गिद्ध र गाईको संरक्षण गर्ने स्थलत बनेको छ नै बाच्छाबाच्छी उत्पादन हुने गरेका छन् ।

यो तनहुको शुक्लागण्डकी नगरपालिकामा रहेको एक महोत्वपूर्ण पर्यटकीय गन्तब्य हो ।

शुक्लागण्डकी नगरपालिका अन्तर्गत पृथ्वीराज मार्गको हलेदीबाट केही मिनेटको दुरीमा पुग्न सकिने बागेडाँडाबाट भुजीकोटसम्म विकास गरिएको पैदल मार्र्ग चरि मार्ग अर्थात बर्ड जोनको रपमा परिचित हुदै जान थालेको छ । नेपालको पहाडी क्षेत्रमा पाइने विभिन्न चराहरुलाई प्रत्यक्ष नियाल्दै र यिनीहरुको चिरविर आवाजको मनोरञ्जन लिदै यात्रा गर्नु यो मार्गको प्रमुख विशेषता रहेको छ । ग्रामिण जनजिवन, परम्परागत शैलिमा निर्माण गरिएको गोरेटो बाटो, धार्मिक एवं ऐेतिहासिक महत्व बोकेका स्थलहरुको दृश्यावलोकन समेत यो गन्तब्यमा भेट्न सकिन्छ ।

शिलादेविको मन्दिर, सिद्ध गुफा, नेपालको राष्ट्रिय फुल लालिगुरास, गिद्धहरुलाई नियाल्न सकिने गिद्धेडाँडा लगायतको स्थानसँगै पोखराका तालतलैया र अन्य जिल्लाहरुको रमणीय दृश्य यो यात्रामा देख्न सकिन्छ । रोधी बस्न भुजीकोट जाने र मेलापात गर्न गाउँलेहरु आउजाउ गर्ने पुरानो मार्ग लकडाउनमा सवारी नचलेपछि स्थानीयहरुको आउजाउले पुन विकास भएको चरि मार्ग विकास समितिका कोषाध्यक्ष सुमन सापकोटाको भनाई छ ।

तनहुँ र स्याङ्जाको सिमानामा रहेको मिलेनियम गुफा शुक्लागण्डकी नगरपालिकाको एक चर्चित पर्यटकीय गन्तब्य स्थल हो । दुलेगौंडा बजारबाट १७ किलोमिटर दुरीमा रहेको यो गुफा पुग्न १ घण्टा ३० मिनेट मोटर यात्रा गरेपछि घडेरी गाउँ पुगेर १५ मिनेट पैदल यात्रा गर्नुपर्दछ । मिलिनियम गुफाको विकास गर्न शुक्लागण्डकीकै गाछेपानीबाट सुरु हुने गरि यही रुटमा मिलेनियम ट्रेक पनि सञ्चालन गरिएको छ ।

प्रकृतिको अनुपन उपहार जस्तै लाग्ने प्राकृतिक सु्न्दरता भरिपूर्ण वातावरणमा रहेको यस गुफाको प्रबेशद्धारा सामान्य लागेपनि भित्र गएपछि सुन्दर र फराकिलो दृश्य देख्न सकिन्छ । गुफा भित्र रहेको पानीको झरना र विभिन्न आकृतिका पथ्परहरुको कारण पर्यटकहरु मोहित हुने गरेका पाइन्छ ।

पृथ्वी राजमार्गको दुलेगौँडाबाट १७ किलोमिटर टाढा रहेको सो ठाउँमा जिपबाट यात्रा गर्नुपर्ने र त्यहाँ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीबाट प्युरी दोभान हुँदै पनि आउन सकिन्छ । मिलेनियम ट्रेकअन्तर्गत पर्ने यस गुफाको थप प्रचारप्रसार एवं विकास गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।

शुक्लागण्की नगरपालिकाको वडा नम्वर ३ उदेनढुँगा रातमाटामा स्थानीय कालिगढहरुको कौशल प्रयोग गरि निर्माण गरिएको बाघको खोर अवलोकन/अध्ययनका लागि एक महत्वपूर्ण स्थल हो ।

दुलेगौडाबाट सवारीमा १५ मिनेट र पैदल यात्रा मार्फत ४५ मिनेटमै पुग्न सकिने यो स्थानमा विस २०७६ सालमा स्थानीय राजु नेपालीको २२ महिनाका छोरालाई घरमै आएर चितुवाले आक्रमण गरेपछि त्रसित भएका गाउँलेहरुले सुरक्षा र मानव बस्तीमा आउने नरभक्षी चितुवालाई पासोमा पारेर नियन्त्रण लिन यो खोर बनाएको स्थानीय गोकर्ण पुँवरले जानकारी दिनुभयो ।

जंगल र मावनबस्तीको विच भागमा निर्माण गरिएको यो परम्परागत बाघ खोरमा बाख्रा लगायत बाघले सिकार गर्न सक्ने जनावरलाई राखेर पासो थाप्ने गरिन्छ । नगरपालिकाको आर्थिक सहयोग र बन उपभोक्ता समितिले आवश्यक संरचना बनाउन काठ उपलब्ध गराएपछि बाघको खोर निर्माण भएको थियो । बाघ नियन्त्रणमा नआएपनि कालान्तरमा यो स्थान हेर्न जानेहरु बढ्दै जान थालेको स्थानीयहरु बताउँछन् ।

तनहुँको भुजिकोट आन्तरिक र बाह्य पर्यटकहरुलाई उत्कृष्ट गन्तब्यको रुपमा परिचित छ । यहाँबाट देखिने सुर्याेदय र सुर्यास्तको दृश्यले पर्यटकको मन लोभ्याउने गरेको छ ।
प्राकृतिक सुन्दर वातावरणमा रमाउन चाहाने पर्यटकले भुजिकोट भ्यूटावर भएको स्थानमा बसेर सहजै तनहुँ, सहित कास्की, स्याङ्जा, पाल्पा, बाग्लुङ, पर्वत, नवलपुर, लमजुङ गोर्खा लगायतका जिल्ला अवलोकन गर्न सकिन्छ । यहाँबाट देखिने कास्कीका ताल तलैया र धौलागिरीदेखि गणेश हिमालसम्मको हिमशृङ्खलाले पर्यटकहरुलाई मोहित बनाउने गर्दछ ।
नेपालका मगर र गुरुङ्ग समुदायका संस्कृति सहितको होमस्टे र यहाँका कृषकले उत्पादन गरेका अर्गानिक मह, कोदोको रक्सी र लोकल कुखुराको मासुको स्वाद विशेष रहेको छ । दगाम, भुजिकोट क्षेत्रमा पर्यटकहरु प्रकृतिको सुन्दर दृश्य सँगै ग्रामिण जनजीवन नियाल्न पुग्ने गरेका छन् ।
यहाँ पुग्न शुक्लागण्डकी नगरपालिकाबाट सवारी साधनमा कोत्रे, एक्लेखेत, तार्कुडाँडा, मकानपुर हुदै भूजीकोटसम्म ४० मिनेटमा पुग्न सकिन्छ भने पैदल यात्रा मार्फत दुलेगौडादेखि बन्केवाको कालिका मन्दिर हुदै १ घण्टा २० मिनेटमा पुग्न सकिन्छ ।


नक्साः भुजिकोट

धार्मिक ऐतिहासिक महत्व बोकेको तीनखोले देविको मन्दिर शुक्लागण्डकी नगरपालिका भित्र रहेको एक महत्वपूर्ण धार्मिक स्थलसँगै पर्यटकीय गन्तब्य समेत हो ।

भक्तिभाव सहित तीनखोले पुग्ने हिन्दु धर्मावलम्वीहरु सहित प्राकृतिक वातावरण मन पराउनेहरु जो कोही पनि यो स्थानमा पुग्ने गरेको पाइन्छ । खैरेनीटारबाट सवारीसाधनमा सहज रुपमा पुग्ने सकिने यो गन्तब्य झण्डै ७.५ किलोमिटरको दुरीमा छ । तीनवटाका खोलाको सँगम स्थलमा बनेको मन्दिर हिन्दुहरुको आस्थाको केन्द्र पनि हो । सुन्दर, शान्त, शितल, हरियाली र विभिन्न चराचुरुङ्गीहरुको चिरविर आवाजले मनोरञ्जन प्रदान गर्ने यो स्थानमा खोला र झरनाको समेत दृश्यावलक गर्न सकिन्छ ।

यस मन्दिरमा नवदुर्गामा विशेष पुजा हुने गर्दछ । धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा स्थिपित यस मन्दिरमा तनहुँ जिल्ला लगायत पाल्पा, कास्की, लम्जुङ, स्याङ्जा, नवलपरासी लगायतका विभिन्न क्षेत्रबाट भक्तजनहरु दर्शन गर्नका लागि आउने गर्दछन् । उनका अनुसार नबोल्नेलाई बोल्ने बनाउने, मनोकांक्षा पुरा गर्ने देविको रुपमा तीनखोलेदेवी प्रसिद्ध रहेको छ ।

सवारी साधन र पैदल दुवै माध्यमबाट सहजै पुग्न सकिने तीनखोले देविको मन्दिर क्षेत्र ध्यान, योग र साधाना गर्नका लागि समेत उपयुक्त रहेको छ ।

रहस्यमयी रुपमा पानीको लहरी छुट्ने कारण नेपालमै चर्चित रहेको धार्मिक क्षेत्र हो, ढोरबाराही मन्दिर । हिन्दु धर्मवलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यस मन्दिरमा दैवि शक्ति रहेको आम सर्वसाधारणहरुको गहिरो विस्वास रहेको पाइन्छ ।

भौगोलिक रुपमा अत्यन्त सुन्दर र शान्त स्थानमा रहेको यो मन्दिरमा दैनिक हजारौँ धार्मिक पर्यटकहरु पुग्दछन् । नेपालको मात्र एकमात्र लहरी छुट्ने मन्दिरको रुपमा ढोरबाराही देविको मन्दिर रहेको यहाँका स्थानीयहरुको दावि छ ।

विज्ञानले समेत पुष्टि गर्न नसकेको रहस्यमयी लहरी छुट्ने कारण यहाँका प्रमुख विशेषता हो । यहाँ पुजा आराधना गर्द विशेष गरि उमेर पुगेर समेत नबोल्ने बच्चाहरुको बोलि फुट्ने र अन्य मनोकाँक्षाहरु पुरा हुने विस्वास सहित हिन्दु धर्म मान्नेहरु भक्तजनको रुपमा पुग्ने गरेको पाइन्छ । यस्तै प्राकृतिक वातावरणमा रमाउने र ध्यान, योग, साधना गर्ने एवं अध्ययन अनुसन्धान गर्ने ब्यक्ति एवं समुहरु पनि यहाँ पुुुग्ने गरेका छन् ।

शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारबाट जम्मा ९ किलोमिटर दुरीमा रहेको ढोरबाराही मन्दिर सवारी साधनमा २० मिनेटमा सहजै पुग्न सकिन्छ भने यो धार्मिक गन्तब्य स्थलमा पैदल यात्रा गरेर समेत करिव १ घण्टामा पुग्न सकिन्छ ।


नक्साः ढोरवाराही मन्दिर

Pages