समाचार
गिद्ध र गाई संरक्षण केन्द्र
तनहुँको महत्वपूर्ण पर्यटकीय गन्तब्य स्थलको रुपमा शुक्लागण्डकी नगरपालिका ९ घारीमा रहेको गिद्ध तथा गाई संरक्षण केन्द्रलाई लिन सकिन्छ । पृथ्वीराजमार्गबाट पाँच मिनेटको दुरीमा नयाँ पुलपारी स्थापना गरिएको यो स्थल विशेषत नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण गर्ने ठाउँ हो । बेवारिसे अवस्थामा रहेका र उत्पादन दिन छोडेपछि संरक्षणका अभाव खेप्ने गाईहरुलाई यहाँ राख्ने गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय जनावर गाईको उचित ब्यवस्थापन र संरक्षण गर्न स्थापना गरेको गौ संरक्षण केन्द्र अहिले मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम विकास समितिको जिम्मामा छ । गाई मात्र नभएर यो क्षेत्र गिद्धहरुको संरक्षण स्थलको रुपमा समेत स्थापित भएको छ । ठुलो संख्यामा रहने गाई मरेपछि गिद्धलाई आहाराको लागि फाल्ने गरिन्छ । मरेका गाई खान गिद्धहरु सयौँको संख्यामा आउने, बस्ने र घुम्ने गरेको दृश्यले पर्यटकहरु समेत मोहित हुन्छन् । यस क्षेत्रलाई गिद्ध रेष्टुरेष्ट समेत भन्ने गरेको पाइन्छ ।
धार्मिक र पर्यटकीय रुपमा समेत विकास हुन थालेको यो संरक्षण केन्द्रमा यहाँका सरकार र स्थानीयहरु लागेको पाइन्छ । नगर र आसपासका मानिसहरुले श्रमदान गरेर गौ संरक्षण केन्द्रको विकासमा महत्वपुर्ण योगदान दिएका छन् ।
पछिल्लो समय हेलामा परेर बेवारिसे अवस्थामा रहेका गाई—गोरुको संरक्षण गरिएको यो क्षेत्रमा जन्मदिन मनाउदै सहयोग गर्न, गाईहरु सामुहिक रुपमा रमाएको, गिद्धहरु खेलेको आदी हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । यो ठाँउमा गिद्ध र गाईको संरक्षण गर्ने स्थलत बनेको छ नै बाच्छाबाच्छी उत्पादन हुने गरेका छन् ।