समाचार
रक गार्डेन
शुक्लागण्डकी नगरपालिकाको ठिक विच भागबाट बग्ने सेती नदीको किनारमा रहेका ढुँगे बगैँचा यहाँका एक महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । नदीको छालसँग प्राकृतिक रुपमा कुदिँएका चट्टानका विभिन्न आकारहरुले यहाँ पुग्ने पर्यटकहरुलाई आकर्षित गरेको पाइन्छ ।
नदीको तटीय क्षेत्रमा अवस्थित रक गार्डेन अर्थात ढुँगे बगैँचा गाछेपानीबाट प्रवेश गरेर नदि किनारमा पुगेपछि देख्न सकिन्छ ।
गाछेपानीदेखि नदीको किनारै किनार शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाको संगम दोभान क्षेत्रसम्म अवलोकन गर्न सकिन्छ । पानीको छालले कुदिँएका कलात्मक ढुँगे बगैचामा पछिल्लो समय विभिन्न चलचित्र र म्युजिक भिडियोको छायाङ्कन गर्ने क्रम बढेका छन् । रक गार्डेनमा पुग्ने पर्यटकले सँगै अवलोकन गर्ने सक्ने धार्मिक स्थलहरु मध्ये मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाम र शुक्ला हिलेटार शिवालय क्षेत्र पनि हुन् । हिन्दु धर्मावलम्वीहरुको आस्थाको केन्द्र बन्दै गएका यि दुई धार्मिक क्षेत्रको ऐतिहासिक धार्मिक महत्व रहेका छन् ।
धार्मिक मान्यता सहित यहाँ पुग्ने धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न शुक्लागण्डकी नगरपालिकासहित सरकारी र नागरिक स्तरबाट विभिन्न कलात्मक संरचनाहरु निर्माण भएका छन् । ध्यान योग र साधनाका साथै प्राकृतिक मनोरम दृश्य मन पराउनेहरुकालागि शुक्ला हिलेटार क्षेत्र क्षेत्र उपयुक्त रहेको छ भने धार्मिक र मनोरञ्जन चाहाने पर्यटकहरुलाई मुक्तिनाथ च्यवनधामले आकर्षित गर्न सक्दछ ।